दफा
दैनिक तथा भ्रमण भत्ता

(१) न्यायाधीश आफू नियुक्त वा सरुवा भएको वा काज खटिएको स्थानमा जाँदा वा न्यायाधीशले सरकारी कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्दा भ्रमण खर्च सम्बन्धी प्रचलित कानून बमोजिमको दैनिक तथा भ्रमण खर्च पाउनेछ ।

(२) न्यायाधीशले कुनै विदेशी मुलुक, संयुक्त राष्ट्रसङ्घ वा त्यसको विशिष्टीकृत निकाय वा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को निमन्त्रणा वा नेपाल सरकारको निर्णय बमोजिम सरकारी कामको सिलसिलामा विदेशी मुलुकको भ्रमण गर्दा खाना र बस्नको व्यवस्था आफैँले गर्नु पर्ने भएमा भ्रमण खर्च सम्बन्धी प्रचलित कानून बमोजिमको दैनिक तथा भ्रमण खर्च पाउनेछ ।

(३) न्यायाधीशले कुनै विदेशी मुलुक, संयुक्त राष्ट्रसङ्घ वा त्यसको विशिष्टिकृत निकाय वा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को निमन्त्रणामा त्यस्तो मुलुक, संस्था वा निकायको अतिथिको रूपमा भ्रमण गर्दा बस्ने व्यवस्था मात्र भएकोमा त्यस्ता मुलुकमा बसेको अवधिको लागि उपदफा (१) बमोजिम पाउने रकमको आधा रकम दैनिक तथा भ्रमण भत्ताको रूपमा पाउनेछ ।

(४) न्यायाधीश उपदफा (२) वा (३) बमोजिम विदेश भ्रमणमा जाँदा आयोजक संस्था वा सम्बन्धित विदेशी मुलुकले खान बस्नको लागि व्यवस्था गर्ने गरी आतिथ्यता प्रदान गरेको र पाकेट खर्च नदिएको भएमा पाकेट खर्च बापत उपदफा (२) बमोजिम पाउने रकमको एक तिहाई रकम मात्र पाकेट खर्च बापत पाउनेछ ।

(५) उपदफा (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुलुकको भ्रमण गर्दा आयोजक संस्था वा सम्बन्धित विदेशी मुलुकले दैनिक तथा भ्रमण भत्ता उपलब्ध गराएकोमा यस दफा बमोजिमको दैनिक तथा भ्रमण भत्ता वा पाकेट खर्च उपलब्ध गराइने छैन ।

(६) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्वदेशी वा विदेशी गैरसरकारी संस्थाको निमन्त्रणामा न्यायाधीशले विदेश भ्रमण गर्ने छैनन् ।

(७) कुनै पनि कारणबाट न्यायाधीश सेवाबाट अलग भई घर फर्कनु परेमा निज र निजको परिवारको सदस्यले यस ऐन बमोजिम दैनिक तथा भ्रमण भत्ता पाउनेछ र त्यस्तो भत्ता निजको बहाल टुटेको अदालतबाट दिइनेछ ।

(८) न्यायाधीशको मृत्यु भएमा निजको परिवारको सदस्यले उपदफा (७) बमोजिम पाउने दैनिक तथा भ्रमण भत्ता त्यस्तो मृत न्यायाधीश बहाल रहेको अदालतबाट लिन पाउनेछ ।

तर अदालतको सदरमुकाम बाहेक अन्यत्र बसेको परिवारका सदस्यलाई यस उपदफा बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइने छैन ।

(९) भैपरी आउने बिदा, पर्व बिदा र विरामी बिदा बाहेक अन्य कुनै पनि बिदा नलिई एकै अदालतमा तीन वर्ष बिताई सकेको न्यायाधीशले घर बिदामा आफ्नो घर जाँदा र घरबाट फर्कदा यस ऐन बमोजिम पाउने दैनिक तथा भ्रमण भत्ताको आधाको दरले दैनिक तथा भ्रमण भत्ता   पाउनेछ ।

तर यस उपदफा बमोजिम निजको परिवारका सदस्यलाई दैनिक तथा भ्रमण भत्ता दिइने छैन ।

(१०) सरुवा भई जाने न्यायाधीशले सरुवा भएको अदालतमा हिसाब बुझाउने गरी आफू बहाल रहेको अदालतबाट यस ऐन बमोजिम पाउने दैनिक तथा भ्रमण भत्ताको रकम पेश्की लिन पाउनेछ ।

(११) नयाँ नियुक्ति भई वा एक अदालतबाट अर्काे अदालतमा सरुवा भई जाँदा न्यायाधीशले आफ्नो परिवारलाई आफू तत्काल बहाल भएको ठाउँबाट आफ्नो घर फर्काउँदा वा आफू नियुक्त भएको वा सरुवा भएको ठाउँमा लैजाँदा एक पटक निजको परिवारका सदस्यलाई देहायका दरले दैनिक तथा भ्रमण भत्ता दिइनेछः–

(क) दश वर्ष वा सोभन्दा माथिका सदस्यलाई न्यायाधीशले पाए सरह ।

(ख) दश वर्ष मुनिका सदस्यलाई न्यायाधीशले पाउने भत्ताको आधा ।